समाचार

सप्तरीको बभनगामामा भीषण आगलागी: १३ घर जलेर खरानी, ३० लाखको क्षति

कञ्चनरुप, २६ वैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६, बभनगामामा शनिबार साँझ भीषण आगलागी हुँदा ६ परिवारको बिचल्ली भएको छ । लामखुट्टे भगाउन गोठमा बालिएको घुरबाट सल्किएको आगोले १३ वटा घर–गोठ जलेर पूर्ण रूपमा नष्ट भएको हो ।
शनिबार साँझ करिब ७ बजे स्थानीय रामअवतार यादवको गोठबाट एक्कासि सुरु भएको आगो बस्तीमा फैलिएको थियो । आगलागीबाट रामअवतार यादव, जुगाई यादव र अनिल यादव (गिरिजा) का समान २–२ वटा घर र १–१ वटा गोठ जलेका छन् । यस्तै, योगिन्द्र यादव, राज कुमार यादव र धिरेन्द्र यादवको १–१ वटा घर पनि जलेर खरानी भएको स्थानीयले बताएका छन् ।
आगलागी सुरु भएको करिब एक घण्टापछि हनुमाननगर कंकालिनी नगरपालिका र मधेस प्रदेश प्रहरी तालिम केन्द्र, राजविराजबाट आएका वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगो निभाउन कोबरसाइन प्रहरी चौकीका सुरक्षाकर्मी र स्थानीय बासिन्दाले ठुलो प्रयास गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, गरगहना, फर्निचर र नगदसहित ३० लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ । “पीडित परिवारको सर्वस्व नष्ट भएको छ, क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको ,” प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page