समाचार समाज

सिरहाको होस्टलबाट भागेका तीन बालक सप्तरीमा फेला, परिवारको जिम्मा लगाइयो

कञ्चनरूप, २८ वैशाख । सिरहाको लहानस्थित एक विद्यालयको होस्टलबाट कसैलाई नसोधी निस्किएका तीन जना बालकलाई सप्तरी प्रहरीले फेला पारी परिवारको जिम्मा लगाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सोमबार बिहान साढे ४ बजेको समयमा सुरुङ्गा नगरपालिका–४, कदमाहास्थित सडकमा शंकास्पद रूपमा हिँडिरहेका ती बालकहरूलाई प्रहरी चौकी लक्ष्मीपुरबाट प्रहरी सहायक निरीक्षक सञ्जय झाको कमाण्डमा खटिएको गस्ती टोलीले उनीहरूलाई फेला पारेको हो।

फेला पर्ने बालकहरूमा सप्तरीको बोदेबर्साईन नगरपालिका–३ का १२ वर्षीय प्रिन्स मण्डल, १० वर्षीय दुर्गानन्द ठाकुर र ७ वर्षीय विकास यादव रहेका छन्। उनीहरू लहानस्थित गोल्डेन इङ्गलिस बोर्डिङ स्कूलको होस्टलमा बसेर अध्ययनरत थिए।

प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा उनीहरू होस्टलबाट कसैलाई जानकारी नदिई निस्किएको खुलेको छ। फेला परेका बालकहरूलाई सुरक्षित रूपमा जिल्ला प्रहरी कार्यालय ल्याई आवश्यक प्रक्रिया पूरा गरेर उनीहरूका अभिभावकको जिम्मा लगाइएको प्रवक्ता तथा सूचना अधिकारी डम्बर बहादुर पुरीले जानकारी दिनुभयो।

   

You cannot copy content of this page