झापा। झापाको हल्दिबारी गाउँपालिकामा घरायसी विवादका क्रममा एक व्यक्तिले आफ्नै श्रीमतीको खुकुरी (बाम्फोक) प्रहार गरी बीभत्स हत्या गरेका छन्।
हल्दिबारी गाउँपालिका वडा नम्बर ५ निवासी ३३ वर्षीया उर्मिला भण्डारीको हत्या आरोपमा उनका श्रीमान् ४४ वर्षीय गोकर्ण भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार जेठ ५ गते राति श्रीमान्–श्रीमतीबीच घरायसी विषयलाई लिएर विवाद भएको थियो। सोही विवाद उग्र रूप लिँदा गोकर्णले उर्मिलाको टाउकोमा बाम्फोक (एक प्रकारको घरेलु धारिलो हतियार) प्रहार गरेका थिए। धारिलो हतियारको गम्भीर चोटका कारण उर्मिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्कालै खटिएको स्थानीय प्रहरी टोलीले हत्यामा संलग्न भण्डारीलाई वारदातमा प्रयोग गरिएको बाम्फोकसहित नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका गोकर्ण भण्डारीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर आवश्यक कानुनी कारबाही तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












