समाचार समाज

सप्तरी: फत्तेपुरमा १३ किलोबढी गाँजासहित २१ वर्षीय यादव पक्राउ

कञ्चनरूप, ७ जेठ । सप्तरी प्रहरीले १३ किलोभन्दा बढी प्रतिबन्धित लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. ०९ कमलपुर टोल बस्ने २१ वर्षीय विजय कुमार यादव रहेका छन् ।

प्रहरीका अनुसार जेठ ०५ गते जिल्ला सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. ०१ जूटपानीस्थित फत्तेपुर-सिवाई सडक खण्डमा प्रहरी चौकी फत्तेपुरबाट खटिएको टोलीले जाँच गरिरहेको थियो । सोही क्रममा सिवाईबाट फत्तेपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको ‘ON test’ २२० सीसीको कालो रङको पल्सर मोटरसाइकललाई शंका लागेर रोक्न खोज्दा चालकले सवारी नरोकी भाग्ने प्रयास गरेका थिए ।

भाग्ने क्रममा मोटरसाइकलको पछाडि सवार रहेका विजय कुमार यादव मोटरसाइकलबाट खसेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएर उनले बोकेको हरियो रङको जेब्रा झोला खानतलासी गर्दा १३ किलो २५० ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको हो । मोटरसाइकल चालक भने फरार रहेका छन्।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीमा राखेर लागू औषध मुद्दा दर्ता गरिएको छ । 

अनुसन्धानका लागि सप्तरी जिल्ला अदालत राजविराजबाट जेठ ०५ गतेदेखि लागू हुने गरी ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिएका छन् ।

   

You cannot copy content of this page