रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा नक्कली नेपाली नोटको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारी दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको विशेष प्रहरी टोलीले नक्कली नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर र नगद सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर नौगढ (ककरहवा) बस्ने ३८ वर्षीय अब्दुल हमिद र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११, मसिना बस्ने २२ वर्षीय बिक्की भन्ने अनिल पासी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विशेष सुराकीको आधारमा प्रारम्भिक अनुसन्धान गर्दा उक्त अवैध कार्यमा संलग्न व्यक्तिहरूको पहिचान खुलेको थियो । त्यसपछि खोजतलास तीव्र पार्दै प्रहरीले मिति जेठ ०७ गते ती आरोपीहरूलाई रंगेहात पक्राउ गर्न सफल भएको हो ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट नक्कली नोट बनाउने कारखाना नै सञ्चालन गरेको अवस्थामा सबैमा एउटै नम्बर ङ २५ ०२४९१२ उल्लेख भएको रू. ५०० दरका ३० थान तयारी नक्कली नोट, काट्न बाँकी १००,। ५०० र १००० दरका प्रिन्ट भइसकेका तर साइजमा काट्न बाँकी अवस्थामा रहेका ७ थान नोट, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरिने १ थान सीपीयू , १ थान प्रिन्टर र १ थान मनिटर तथा नोट छाप्न ल्याइएको ४ रिम प्रिन्ट पेपर, २ थान मोबाइल फोन, र नोट काट्न प्रयोग गरिने १ थान कैंची बरामद भएको छ ।
प्रहरीले बरामद गरिएका सामग्रीहरूलाई दोसी प्रमाण (दसी) का रूपमा जफत गरेको छ । पक्राउ परेका दुवै अभियुक्तहरूलाई हिरासतमा राखी मुद्रा सम्बन्धी कसुर (खोटा चलन) अन्तर्गत थप कानुनी कारबाही र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले दिनुभएको छ ।

















