समाचार

सीमित बजेटका बाबजुद प्रत्येक वडामा विकास योजना पुर्‍याएका छौँ : पूर्वमन्त्री लेखी

कञ्चनरूप, ९ जेठ । मधेश प्रदेशका सांसद तथा पूर्व गृहमन्त्री राजकुमार लेखीले आफू जनप्रतिनिधि निर्वाचित भएदेखि नै सप्तरी निर्वाचन क्षेत्र नं. १(क) अन्तर्गतका सबै पालिकाका प्रत्येक वडामा विकास योजना पुर्‍याउने काम निरन्तर गरिरहेको बताउनुभएको छ ।

शनिबार सप्तरीको कञ्चनरुप नगरपालिका–६ घोघनपुर बलुवास्थित मदरसा मिफ्ताहुल उमुलको नयाँ भवन शिलान्यास कार्यक्रममा बोल्दै उहाँले प्रत्येक वडामा तीनदेखि पाँचवटासम्म योजना उपलब्ध गराउने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

पूर्व गृहमन्त्रीसमेत रहनुभएका लेखीले मधेश प्रदेश सरकारको सीमित बजेटका बाबजुद पनि जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर विकास निर्माणका योजना सञ्चालन गरिएको बताउनुभयो । उहाँले विकास योजनाको शिलान्यास तथा उद्घाटन गर्दा सम्बन्धित प्रदेश सांसदलाई जानकारी गराएर मात्र कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै जनप्रतिनिधिले जिम्मेवार र समन्वयात्मक ढंगले काम गर्नुपर्ने धारणा राख्नुभयो ।

शिलान्यास कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न धर्म समुदायका अगुवा तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेकोमा खुसी व्यक्त गर्दै उहाँले समावेशी सहभागिताले सामाजिक सद्भाव र विकासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

मधेश प्रदेश सरकारको २० लाख ५४ हजार ७ सय ९९ रुपैयाँ २६ पैसा लागतमा निर्माण हुन लागेको “मदरसा स्तरोन्नति योजना” अन्तर्गत उक्त भवन निर्माण हुन लागेको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी सांसद लेखीले भवन निर्माण समयमै सम्पन्न गरी गुणस्तरीय बनाउन सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा कञ्चनरुप नगरपालिकाका पूर्व नगरप्रमुख बसन्त मिश्रले आगामी विकास योजना प्रभावकारी, गुणस्तरीय र जनमुखी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विकास निर्माणका काम राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर सबै पक्षको सहकार्यमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

कञ्चनरुप नगरपालिका–७ का वडा अध्यक्ष समानन्द चौधरीले पौडा खोला र बन्द्रन खोलाबाट हुने बाढी तथा कटानले स्थानीयवासी वर्षेनी समस्यामा पर्ने गरेको उल्लेख गर्दै त्यसको दीर्घकालीन नियन्त्रणका लागि पहल गरिदिन पूर्वमन्त्री लेखीसँग आग्रह गर्नुभयो ।

त्यसैगरी कञ्चनरुप नगरपालिका–८ का पूर्व वडा अध्यक्ष राजकुमार साहले जनतालाई प्रत्यक्ष लाभ पुग्ने खालका ठोस तथा दीर्घकालीन योजना ल्याउन आवश्यक रहेको धारणा राख्नुभयो ।

सप्तकोशी नगरपालिका–२ का वडा अध्यक्ष जाहुर हुसेनले सप्तरीमा संघीय निर्वाचनबाट निर्वाचित ६ जना सांसदमध्ये निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित जनप्रतिनिधिप्रति जनताको विकाससम्बन्धी विशेष अपेक्षा रहेको बताउँदै समग्र क्षेत्रको विकासमा थप सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सप्तकोशी नगरपालिका–५ का वडा अध्यक्ष गोसाई चौधरी, सामाजिक अभियन्ता मिलन चौधरी लगायत वक्ताहरूले विकास निर्माणका कामलाई प्रभावकारी, पारदर्शी र जनमुखी ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

मोहम्मद मुस्तफा मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कञ्चनरुप नगरपालिका–१२ का वडा सदस्य जैनुद्विन मियाँले गर्नुभएको थियो ।

यसैबीच, मधेश प्रदेशका सांसद तथा पूर्व गृहमन्त्री राजकुमार लेखीले शनिबार सप्तरीका विभिन्न स्थानमा पाँच वटा योजनाको शिलान्यास गर्नुभएको छ । उहाँले सप्तकोशी नगरपालिका–२ मा दुई वटा, कञ्चनरुप नगरपालिका–६ मा दुई वटा तथा वडा नं. ११ मा एक वटा योजना शिलान्यास गर्नुभएको बताइएको छ ।

   

You cannot copy content of this page