कञ्चनरुप, १३ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगरस्थित जामिया इस्लामिया विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन गरिएको छ । बुधबार विद्यालय प्राङ्गणमा बसेको भेला तथा समितिको बैठकले अध्यक्ष पदमा अजिजुल अलीलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।
बैठकले विद्यालयको चौतर्फी विकासका लागि अजिजुलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा घोषणा गरेको छ ।
त्यस्तै सदस्यहरुमा नजिर हुसेन अली, आसिका खातुन र नगिना खातुन चयन हुनुभएको छ भने सदस्य सचिवमा सेराज खाँ चयन हुनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का वडा सदस्य जैनुद्दिन मियाँले शिक्षा क्षेत्रको विकासका बारेमा विशेष जोड दिनुभयो । मन्तव्यका क्रममा उहाँले भन्नुभयो, “शिक्षा नै समाज परिवर्तनको मूल आधार हो । यस विद्यालयको शैक्षिक गुणस्तर सुधार्न र भौतिक पूर्वाधार विकास गर्न नवनिर्वाचित समितिले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।” उहाँले विद्यालयको प्रगतिका लागि वडा कार्यालयको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
उक्त बैठकमा शिक्षक प्रतिनिधि हैदर अली, स्थानीय शिक्षाप्रेमी, अभिभावक तथा जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
नवनिर्वाचित व्यवस्थापन समितिको कार्ययोजना तय गर्न र विद्यालयका विविध आन्तरिक विषयमा छलफल गर्न आगामी बैठकको मिति समेत तय गरिएको छ । समितिको अर्को बैठक आगामी असार ३ गते बुधबार बिहान १०:०० बजे विद्यालयमै बस्ने निर्णय भएको सदस्य सचिव सेराज खाँले जानकारी दिनुभयो । उक्त बैठकमा विद्यालयको आगामी रणनीति र शैक्षिक सुधारका एजेन्डाहरूमाथि विस्तृत छलफल हुने जनाइएको छ ।










