समाचार

सप्तरीमा एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी नगर्न प्रशासनको चेतावनी, पाइए कार्वाही गरिने

कञ्चनरूप, २५ साउन । सप्तरी जिल्ला प्रशासन कार्यालयले जिल्लामा खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणमा मनोमानी नगर्न डिलर तथा व्यवसायीहरूलाई चेतावनी दिएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार सूचना जारी गर्दै उद्योग तथा डिलरबाट सहज रूपमा बिक्री–वितरण नगरी ग्यास लुकाईछिपाई राख्ने, तोकिएको मूल्यभन्दा बढी रकम लिने तथा होटल, व्यवसायी र ग्राहकलाई बिक्री वितरणमा अनियमितता गर्ने गरेको गुनासो प्राप्त भएको जनाएको छ।

प्रशासनका अनुसार नियमित ग्राहकको माग बेवास्ता गर्ने, पहुँच र चिनजानका आधारमा बिक्री वितरण गर्ने, मूल्यसूची नराख्ने, बिक्री बिल नदिने तथा बिल–बिजक नराख्ने जस्ता कार्य नगर्न निर्देशन दिइएको छ।

त्यस्तै, कृत्रिम अभाव सिर्जना गरी ग्यास भण्डारण गर्ने र दर्ता/अनुमति नभएका विक्रेतालाई डिलर वा वितरकले ग्यास उपलब्ध गराउने कार्यसमेत नगर्न प्रशासनले स्पष्ट पारेको छ।

सूचनामा उल्लेखित कानुनविपरीतका कार्य गरेको पाइएमा सम्बन्धित व्यक्ति, डिलर तथा विक्रेतामाथि कालोबजार तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२, उपभोक्ता संरक्षण ऐन, २०७५ लगायत प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। साथै, लुकाइराखिएको ग्यास सिलिन्डरसहित जफत गरिने प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्वारा जारी सूचनामार्फत सम्बन्धित सबैलाई एलपी ग्यासको बिक्री–वितरणमा पारदर्शिता र सहजता कायम गर्न आग्रह गरिएको छ।

   

You cannot copy content of this page