कञ्चनरूप, १५ भदौ । सप्तरी प्रहरीले अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकिएपछि फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा दाखिला गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले फैसला कार्यान्वयन गर्ने क्रममा विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादीलाई खोजतलास गरी पक्राउ गरेको हो।
पक्राउ पर्नेमा अफरोज मियाँ भन्ने मो. अफरोज र लक्ष्मण महतो रहेका छन्। प्रहरीका अनुसार अफरोजलाई सवारी ज्यान मुद्दामा ३ वर्ष कैद र ३२ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
त्यस्तै, लक्ष्मण महतोलाई यौन दुर्व्यवहार मुद्दामा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
दुवै जनालाई पक्राउ गरी भदौ १५ गते सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। अदालतको आदेशअनुसार उनीहरूलाई कैद भुक्तानका लागि कारागार कार्यालय सप्तरी पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका दुई जनामाथि तोकिएको कुल ३ वर्ष ६ महिना कैद तथा ३७ हजार रुपैयाँ जरिवाना कार्यान्वयन हुनेछ। फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार प्रतिवादीको खोजी तथा पक्राउ कार्यलाई प्रहरीले निरन्तरता दिइरहेको जनाएको छ।













