बारा, १६ भदौ । बाराको विश्रामपुर गाउँपालिकाबाट हराएका ११ वर्षीय बालकको अपहरण गरी हत्या भएको पुष्टि भएपछि प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार विश्रामपुर गाउँपालिका वडा नं. ३ मुसहरवा बस्ने ११ वर्षीय राजेश कुमार साह गत भदौ ९ गते बिहान ९:०० बजेदेखि हराएका थिए। बालक हराएको सूचना सोही दिन बिहान ९:५० बजे प्रहरी चौकी मुसहरवामा प्राप्त हुनासाथ प्रहरीले खोजतलास तीव्र पारेको थियो।
खोजतलासका क्रममा भदौ ११ गते बिहान १०:३० बजे भारतको बिहार राज्यस्थित मोतिहारी जिल्ला, नुनैयाडि पञ्चायत वडा नं. १ स्थित सिंहा नदीको किनारमा बालक साह मृत अवस्थामा फेला परेका थिए।
घटनाको अनुसन्धानका क्रममा संकलित सीसीटीभी (CCTV) फुटेज, स्थानीय बासिन्दाहरूको बयान तथा भारतीय प्रहरीसँगको समन्वय र सहकार्यबाट विश्रामपुर गाउँपालिका वडा नं. ३ मुसहरवा निवासी १७ वर्षीय किशोर (परिवर्तित नाम: जिल्ला ३३ (A) ०८३/८४) ले बालकलाई विश्रामपुरबाट अपहरण गरी भारतको उक्त स्थानमा पुर्याई हत्या गरेको खुलेको छ।
घटना सार्वजनिक भएसँगै प्रहरीले अभियुक्त किशोरलाई पक्राउ गरी उनीविरुद्ध अपहरण र कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरेको छ। जिल्ला अदालत बाराबाट ५ (पाँच) दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (DSP) मिन बहादुर घलेले जानकारी दिनुभयो।














