कञ्चनरूप, १८ भदौ । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ रुपनगर स्थित सुनाखरी इङलिस बोर्डिङ स्कुल र जन बालबोध इङलिस बोर्डिङ स्कुलले भव्यताका साथ श्रीकृष्ण जन्माष्टमी पर्व मनाएका छन्। विद्यार्थीहरूमाझ धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले दुवै विद्यालयले छुट्टाछुट्टै विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी पर्व मनाएका हुन्।
जन्माष्टमीको अवसरमा विद्यालयका साना-साना विद्यार्थीहरू भगवान् श्रीकृष्ण र राधाको मनमोहक भेषभूषा (गेटअप) मा सजिएर सहभागी भएका थिए। कार्यक्रममा विद्यार्थीहरूले श्रीकृष्णको जीवनचरित्र, बाललीला र भजनावलिमा आधारित नृत्य तथा गायन प्रस्तुत गरेर माहोललाई उल्लासमय बनाएका थिए। सो अवसरमा विद्यालयका शिक्षक-शिक्षिकाहरूले भगवान् श्रीकृष्णको जन्मसँग जोडिएका पौराणिक कथा, उनको दिव्य लीला तथा यस पर्वको धार्मिक र सांस्कृतिक महत्वका बारेमा जानकारी गराएका थिए।

विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी आफ्ना संस्कार, संस्कृति र मौलिक परम्पराबारे व्यवहारिक रूपमा सिकाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रममा बोल्दै सुनाखरी इङलिस बोर्डिङ स्कुलकी संस्थापक अम्बिका अधिकारी (कटुवाल) ले बालबालिकालाई सानै उमेरदेखि आफ्नो धर्म, संस्कृति र जगत्को नैतिक मूल्य-मान्यताबारे व्यावहारिक ज्ञान दिनु आजको आवश्यकता रहेको बताउनुभयो। “हाम्रा चाडपर्वहरू केवल उत्सव मात्र होइनन्, यी हाम्रा पहिचान र संस्कारका आधार हुन्। यस्ता कार्यक्रमले बालबालिकामा सांस्कृतिक जागरण ल्याउनुका साथै उनीहरूको सर्वाङ्गीण विकासमा सहयोग पुर्याउँछ,” उहाँले भन्नुभयो।

त्यस्तै, जन बालबोध इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल राजन अधिकारीले किताबी शिक्षाका साथसाथै विद्यार्थीलाई जगत्, जीवन र संस्कार बुझाउन यस्ता अतिरिक्त क्रियाकलापले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “आधुनिक शिक्षासँगै आफ्ना चाडपर्व र मौलिक परम्पराको संरक्षण गर्नु हाम्रो दायित्व हो। बालबालिकाहरूलाई आफ्नो पूर्वजको गौरवशाली संस्कृतिसँग जोड्न विद्यालयले निरन्तर यस्ता रचनात्मक कार्यक्रम गर्दै जानेछ।”
उक्त कार्यक्रममा दुवै विद्यालयका शिक्षक-शिक्षिका, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बालबालिकाहरूको कलात्मक प्रस्तुति र उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप आकर्षक र स्मरणयोग्य बनाएको थियो।





















