काठमाडौँ, १९ भदौ । सामाजिक सञ्जालमार्फत महिलाको नग्न तस्बिर तथा भिडियो सार्वजनिक गरिदिने धम्की दिएर रकम असुल गरेको अभियोगमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ घर भई हाल काठमाडौँको कीर्तिपुर नगरपालिका, सल्यानथान बस्ने २३ वर्षीय कमल बहादुर बुढा रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुढाले सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफूलाई ‘ह्याकर’ बताउँदै ती महिलाका नग्न तस्बिर तथा भिडियोहरू आफूसँग रहेको दाबी गरेका थिए। रकम नदिए ती तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै उनले ९ लाख ९५ हजार रुपियाँ असुल गरेका थिए।
घटनाबारे सूचना प्राप्त हुनासाथ खटिएको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले उनलाई फेला पारी नियन्त्रणमा लिएको हो।
पक्राउ परेका बुढामाथि आपराधिक लाभसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ (पाँच) दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिएका छन्।













