विराटनगर, १९ भदौ । सार्वजनिक स्थलमा विद्यालय पोसाकमा रहेका युवतीहरूलाई अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जना पुरुषलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-४ बस्ने ३५ वर्षीय महेश कुमार मण्डल र बाराको परवानीपुर गाउँपालिका-१ घर भई हाल विराटनगर बस्दै आएका ३३ वर्षीय अखिलेश कुमार प्रसाद रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भदौ १९ गते दिउँसो करिब १२:३० बजे विराटनगर महानगरपालिका वडा नं. ९ स्थित महेन्द्रचोकमा उत्तरबाट दक्षिणतर्फ मोटरसाइकलमा सवार दुई पुरुषले सडकमा हिँडिरहेका विद्यालय पोसाकका दुई युवतीलाई अभद्र व्यवहार गरेका थिए।
उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खोजतलास गरी उनीहरूलाई विराटनगरबाटै नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनामाथि अभद्र व्यवहार मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।













