समाचार

क्यासिनोमा जुवा खेल्ने र खेलाउने ८ जना पक्राउ

वीरगञ्ज, २१ भदौ । पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित Golden Finger Gaming Zone Pvt. Ltd. (Casino) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने तथा खेल्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भदौ २० गते राति करिब १०ः३० बजे उक्त क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले क्यासिनोमा प्रवेश गरी जुवा खेलिरहेका तथा नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार जुवा खेल्ने कार्यमा संलग्न चार जना नेपाली नागरिक रहेका छन्। उनीहरूमा पर्सा, सखुवाप्रसौनी गाउँपालिका–४ का ३६ वर्षीय जसवन्त यादव, वीरगञ्ज महानगरपालिका–११ का ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ कै ३२ वर्षीय ओमप्रकाश बैठा र हेटौंडा उपमहानगरपालिका–५ का ३६ वर्षीय प्रदीप पौडेल रहेका छन्।
त्यस्तै, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा क्यासिनोका कर्मचारीसहित चार जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूमा वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन्।
नियन्त्रणमा लिइएका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीले क्यासिनोमा नेपाली नागरिकलाई अवैध रूपमा प्रवेश गराई जुवा खेलाउने गतिविधिमाथि निगरानी तथा कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

You cannot copy content of this page