कोशी प्रदेश समाचार

धनकुटामा १ हजार २४० किलो गाँजासहित ट्रक बरामद

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट प्रहरीले १ हजार २४० किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजासहित एउटा ट्रक बरामद गरेको छ।

कोशी लोकमार्गअन्तर्गत फेदी क्षेत्रमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त चेकिङ टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ ख ५२७ नम्बरको ट्रकलाई चेकजाँचका लागि रोक्न खोजेको थियो।

प्रहरीका अनुसार ट्रक रोक्ने क्रममा चालक ट्रकबाट हाम फालेर फरार भएका थिए। ट्रक शंकास्पद लागेपछि टोलीले चेकजाँच गर्दा ट्रकभित्र लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको हो।

बरामद गरिएको गाँजा र ट्रकलाई आवश्यक कानुनी प्रक्रियाका लागि नियन्त्रणमा लिइएको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानसमेत भइरहेको छ।

You cannot copy content of this page