कञ्चनरूप, ८ असोज । सुनसरीको कोशी गाउँपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा कञ्चनरूपबाट गएको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ७ः३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नम्बरको यात्रुवाहक माइक्रोबस आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा सप्तरीको कञ्चनरूप नगरपालिका–११ का ३२ वर्षीय चालक आर्यन पोखरेलसहित कञ्चनरूप नगरपालिका–११ का ७० वर्षीय दनसलाल चौधरी, वडा नं. १ का ४३ वर्षीय गोबिन्द गुप्ता, वडा नं. १२ का ५१ वर्षीय बलराम पौडेल, वडा नं. ११ की २१ वर्षीया माया भुजेल, सोही वडाका ६० वर्षीय असरफि खङ, ३० वर्षीया सुनिता खङ, वडा नं. ६ की ३० वर्षीया पुजा चौधरी, फतेपुर नगरपालिका–१ की ३६ वर्षीया उर्मिला भुजेल, २१ वर्षीया उशा भुजेल, कञ्चनरूप नगरपालिका–१ की ४७ वर्षीया राधा नेपाल र वडा नं. ६ का ४० वर्षीय देवाकान्त चौधरी घाइते भएका छन्।
घाइतेमध्ये बलराम पौडेलको उपचारपछि बिहान ९ः३० बजे डिस्चार्ज गरिएको छ। अन्य घाइतेहरूको सप्तकोशी न्युरो अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












