कोशी प्रदेश • समाचार

सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला

सुनसरी, २ कार्तिक । सुनसरीको बराहक्षेत्र नगरपालिका–९, राजाबासस्थित सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव सोमबार फेला परेको छ ।

मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका–१०, बकुल्लाचाप निवासी अन्दाजी २४ वर्षीय ओसन कोइराला रहेका छन् । उनी आइतबार सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

बेपत्ता कोइरालाको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकलीअन्तर्गत विपद् व्यवस्थापन बेस चतराबाट गोताखोरसहितको टोली तथा नेपाल प्रहरी परिचालन गरिएको थियो ।

संयुक्त सुरक्षा टोलीले खोज तथा उद्धार गर्ने क्रममा सोमबार उनको शव फेला पारेको हो ।

नदीमा पौडी खेल्ने क्रममा युवक बेपत्ता भएपछि सुरक्षाकर्मीले खोजी अभियान सञ्चालन गरेका थिए ।

You cannot copy content of this page