काठमाडौँ, १० कात्तिक । थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल आएका दुई भारतीय महिला १४ किलो लागूऔषध गाँजासहित पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरोका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा ब्युरोको शाखा कार्यालय तथा प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
कात्तिक १० गते Batik Air को उडान नम्बर OD 182 मार्फत थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल आएका दुई महिलालाई शङ्का लागेपछि जाँच गर्दा उनीहरूको साथबाट १४ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतकी ४६ वर्षीया शबानाबानो यार महमद शेख र ३५ वर्षीया सरिफा अब्बास अन्सारी रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट १४ किलो लागूऔषध गाँजा, दुई थान राहदानी र दुई थान मोबाइल फोन बरामद गरिएको छ।
पक्राउ परेका दुवै महिलामाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।







