सुनसरी । सुनसरीको हरिनगर गाउँपालिकामा छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हरिनगर गाउँपालिका–६ स्थित टपरास्थित अर्नमा घाटमा छठ पूजास्थलमा तोडफोड भएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो ।
गत कात्तिक २९ गते साँझ करिब ७ः३० बजे भक्तजनहरूले छठ पूजा सम्पन्न गरी घर फर्किसकेपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले हरिनगर गाउँपालिका–६ बस्ने १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
तोडफोडबाट क्षति पुगेको पूजास्थल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइएको प्रहरीले जनाएको छ । साथै श्रद्धालु भक्तजनलाई पुनर्निर्माण गरिएको पूजास्थलमा निर्भीक भएर पूजा गर्न सहभागी हुन प्रहरीले आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।







