काठमाडौं, १० मंसिर । काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवन जिल्ला घर भई काठमाडौंको ठमेल बस्ने २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार दिउँसो करिब १ बजे काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित स्नोलाइन होटलमा अवैध स्रोतको रकम लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटलमा जाँच गर्ने क्रममा नेपाली रुपैयाँ ५० लाख ५० हजार, ओमानी रियाल ४२५.०९ र संयुक्त अरब इमिरेट्स (यूएई) दिराम ५५ फेला पारेको जनाएको छ।
उनीहरूलाई नियन्त्रणमा लिएर बरामद रकमको स्रोत तथा कारोबारबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।







