राजनीति

राजविराज नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा जसपा विजयी

राजविराज , ६ जेठ । सप्तरीको राजविराज नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी हुनुभएको छ ।
प्रमुखमा भिमराजले ४ हजार ८१७ र उपप्रमुखमा इसरत प्रविणले २ हजार ८३७ मतान्तरले निर्वाचित हुनुभएको हो ।
प्रमुखमा निर्वाचित यादवले ९ हजार ६२४ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शम्भुप्रसाद यादवले ४ हजार ८०७ प्राप्त गर्नुभयो । प्रतिस्पर्धी शम्भुप्रसाद निवर्तमान मेयर पनि हुन ।
त्यस्तै उपप्रमुखमा निर्वाचित इसरतले कुल ७ हजार २६४ मत प्राप्त गर्नुभयो । उपमेयर पदकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शुशिलाकुमारी यादवले ४ हजार ४२७ मत प्राप्त गर्नुभएको छ ।
कुल १६ वडा रहेको राजविराज नगरपालिकामा जसपाले वडा नम्बर १, २, ३, ४, ५, ९, ११ र १६, माओवादीले वडा नम्बर ७, ८ र १०, लोसपाले वडा नम्बर ६ र १३ को वडा अध्यक्षमा विजय भएको छ । नेकपा (एमाले) ले वडा नम्बर १४, नेकपा (एस)ले वडा नम्बर १२ र राप्रपाले वडा नम्बर १३ को वडा अध्यक्षमा विजय भएको छ ।
मुख्य सबै दलको प्रतिनिधित्व भएको नगरपालिकाको नगर कार्यसमितिमा कांग्रेसको प्रतिनिधित्व हुन सकेको छैन । प्रमुख, उपप्रमुखमा सम्मानजनक मत पाए पनि आन्तरिक विवाद र टिकट वितरणमा पक्षपात भएको भन्दै कार्यकर्ताबाटै वडा अध्यक्षमा असहयोग भएपछि कांग्रेसले एउटै वडा अध्यक्ष जित्न नसकेको कांग्रेसका कार्यकर्ताहरू बताउँछन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page