कञ्चनरूप, २३ साउन । सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ महादेवा टोलबाट शुक्रबार बिहान ठुलो मात्रामा गाँजा बरामद भएको छ । धान खेत तथा बाँंसघारीबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले १७ वटा बोरामा रहेको ३ सय ९६ किलो ९०० ग्राम गाँजा बरामद गरेको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
धान खेतमा ११ पोका र बाँसघारीमा ६ पोका छरिएर रहेको अवस्थामा गाँजा बरामद भएको उहाँले बताउनुभयो ।
नेपाल तथा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।











