कोशी प्रदेश समाचार

सिटि रिक्सा चालकलाई गोली प्रहार गरी हत्या गर्ने सप्तरीका दुईसहित ७ जना पक्राउ

सुनसरी, मंसिर २२ गते । सुनसरीमा सिटि रिक्सा चालकलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । 

सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी ०५:२० बजेको समयमा रामधुनी नगरपालिका-२ कर्मनिया टोल स्थित भित्री सडकमा अपरिचित व्यक्तिहरुले गोली प्रहार गरी हत्या गरेका थिए । 

घटनाको अनुसन्धानको क्रममा संलग्न रहेका ७ जनाको समुहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी सार्वजनिक गरेको हो  । 

पक्राउ पर्नेहरुमा रामधुनी नगरपालिका १ का ४३ बर्षीय राजेश भन्ने राजकिशोर साह, ४० बर्षीय नन्द किशोर साह, भोक्राहा नरसिंह गाउँपालिका ५ का ३४ बर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका ४ का ३७ बर्षीय गियास मन्सुरी, देवानगन्ज ५ का २५ बर्षीय मिथलेश यादव, सप्तरी राजविराज नगरपालिका १६ का २८ बर्षीय अंकित साह र राजबिराज ९ का २८ बर्षीय प्रिन्स कुमार दास रहेका छन् । 

गोली प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा मृतक दिनेश कुमार चौधरीले तन्त्रमन्त्र गरी लामो समय देखि परिवारका सदस्यहरुलाई बिरामी बनाई दुःख हैरानी दिएको कारण राजकिशोर साह र नन्द किशोर साह समेतले योजना वनाई मोहमद इब्रान मिया लगायतका व्यक्तिहरुसंग रकम लेनदेन गरी दिनेश कुमार चौधरीलाई गोली प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

घटनामा संलग्न रहेका उनीहरुको मंसिर १७ गते सम्मानित सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा म्याद थप गरी आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page