कञ्चनरूप, ९ पुस । विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण सप्तरीको बाेदे बर्साइन नगरपालिकाले नगरभित्रका विद्यालयहरू चार दिन बन्द गर्ने निर्णय गरेको छ ।
चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले एक सूचना जारी गर्दै बुधबारदेखि १३ गते सम्म विद्यालय बिदा दिने निर्णय गरेको हो ।
नगरपालिका अन्तर्गतका सबै विद्यालयमा ४ दिनका लागि विदा दिएको नगरपालिकाका प्रमुख आतेश सिंह यादवले जानकारी दिनुभयो ।
विगत केहि दिन देखि तराई क्षेत्रमा शिलतहरका कारण बढेको अत्यधिक चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या देखिन सक्ने र बालबालिकाहरूलाई विद्यालय आउन जान असहज हुने भएकोले विदा दिइएको जारी सूचनामा भनिएको छ ।
पुस लागेसँगै बाक्लो कुहिरो र शीतलहरले सप्तरीको जनजीवन प्रभावित भएको छ ।











