महुली , १० पुस । सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–६ मोहनपुरकी संगीता राईको सर्पदंशबाट मृत्यु भएपछि उनको परिवारलाई दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले रु दुई लाख रुपैयाँ क्षतिपूर्ति रकम उपलब्ध गराउने भएको छ ।
२०८२ साल साउन ७ गते साँझ भैँसीलाई गोठमा घाँस हाल्न जाने क्रममा राईलाई विषालु सर्पले टोकेको थियो । गम्भीर अवस्थामा उपचारका लागि सर्पदंश अस्पताल राजविराज लगिए पनि उपचारकै क्रममा साउन ८ गते बिहान उनको मृत्यु भएको थियो।
राईले कृषि तथा पशु पन्छी विमा अन्तर्गत पर्ने भैँसी बीमा गराएकी थिइन् । सोही पशु बीमा अन्तर्गत पशुधनीको स्वतः दुर्घटना बीमा हुने प्रावधान अनुसार उनको मृत्यु भएपछि परिवारले बीमा क्षतिपूर्ति प्राप्त गर्ने भएको हो ।
बीमा दाबी प्रक्रिया पूरा भएपछि पुस १० गते ओरिएन्टल इन्स्योरेन्स कम्पनीका अभिकर्ता प्रकाश आचार्यले एक कार्यक्रमका बीच मृतक राईको परिवारलाई दाबी फर्छ्यौट हस्तान्तरण गर्नुभएको छ । उहाँले बीमाले पशु धन मात्र नभइ पशु धनीको आकस्मिक तथा दुःखद घटनामा पीडित परिवारलाई आर्थिक राहत पुर्याउने बताउनुभयो ।
असामयिक निधनबाट शोकमा परेको परिवारलाई उक्त रकमले केही हदसम्म राहत मिल्ने विश्वास गरिएको छ ।
स्थानीयवासीहरूले यस्ता बीमा योजना स्थानिय सरकारले व्यापक प्रचार प्रसार तथा जनचेतना बढाउनुपर्नेमा जोड दिएका छन् ।













