राजनीति समाचार

सप्तरीका चारै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कञ्चनरूप, २ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी जिल्लाका चारै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। शुक्रबार एक कार्यक्रमका बिच विभिन्न स्थानमा कार्यालयहरू सञ्चालनमा ल्याइएको हो ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार निर्वाचन क्षेत्र नम्बर १ को कार्यालय कञ्चनरूप नगरपालिकामा, निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय राजविराज नगरपालिकामा, निर्वाचन क्षेत्र नम्बर ३ को कार्यालय शम्भुनाथ नगरपालिकामा तथा निर्वाचन क्षेत्र नम्बर ४ को कार्यालय खडक नगरपालिकामा स्थापना गरिएको हो ।
निर्वाचन कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी सम्पूर्ण प्रशासनिक काम औपचारिक रूपमा सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयहरूले उम्मेदवार मनोनयन, उजुरी दर्ता, छानबिन, नामावली प्रकाशनलगायत निर्वाचनसम्बन्धी सबै प्रक्रिया व्यवस्थापन गर्नेछन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ। त्यसपछि माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी दर्ता, माघ ८ गते उजुरीमाथि छानबिन तथा उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने कार्यतालिका छ ।
त्यसैगरी माघ ९ गते उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचन प्रक्रिया शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी तीव्र रूपमा अघि बढाइएको जनाएको छ।

सप्तरीमा चार लाख ४६ हजार ४०२ जना मतदाता सङ्ख्यामा पुरुष दुई लाख ३३ हजार ९६, महिला दुई लाख १३ हजार २८३ र अन्य २३ जना रहेका छन् भने चार निर्वाचन क्षेत्रमा २९६ मतदान स्थल र ५६२ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय ले जानकारी दिएको छ ।

   

You cannot copy content of this page