कञ्चनरूप, २ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सप्तरी जिल्लामा निर्वाचन प्रहरी भर्नाका लागि ठूलो संख्यामा आवेदन परेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार निर्वाचन प्रहरीका लागि कुल ७ हजार ४ सय ४४ जनाले आवेदन दर्ता गराएका छन्।
आवेदन दिनेहरूमध्ये ६ हजार ५ जना पुरुष र १ हजार ४ सय ३९ जना महिला रहेका छन्। निर्वाचन सुरक्षाका लागि सप्तरीमा ४ हजार २ सय २२ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा त्यसको तुलनामा झन्डै दोब्बरभन्दा बढीले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आवेदन दर्ता गर्ने अन्तिम दिन बिहीबार साँझसम्ममा उक्त संख्यामा आवेदन प्राप्त भएको हो। आवश्यकताभन्दा बढी आवेदन परेपछि छनोट प्रक्रिया प्रतिस्पर्धात्मक हुने बताइएको छ।
निर्वाचन प्रहरी भर्नासम्बन्धी कार्यतालिकाअनुसार माघ ५ गतेदेखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन गरिनेछ। त्यसपछि माघ १२ गते अन्तिम नतिजा सार्वजनिक गरिने र छनोटमा परेका निर्वाचन प्रहरीलाई माघ १५ गतेदेखि २४ गतेसम्म तालिम प्रदान गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
आगामी निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यले पर्याप्त सुरक्षाकर्मी परिचालनको तयारी भइरहेको जनाइएको छ।















