विराटनगर, माघ १३ गते । मोरङ र सुनसरी जिल्लाबाट लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार सुनसरीको इनरुवा नगरपालिका–६ क्षेत्रमा सवारी साधन चेकजाँच गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट सखुवागाछीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार को.२ ह ६१२५ नम्बरको अटो रिक्सा जाँच गर्दा अटोभित्र लुकाइ राखिएको अवस्थामा ९९ किलो १ ग्राम लागूऔषध गाँजा फेला परेको थियो। उक्त अटोका चालक धनकुटा चौबिसे गाउँपालिका–७ निवासी साजन लिम्बु तथा अटोमा सवार गगन लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
त्यसैगरी मोरङ जिल्लाको अस्थायी प्रहरी चौकी कुशलबजारबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका–८ निवासी जीवन नुनियालाई ७०० ग्राम लागूऔषध गाँजासहित पक्राउ गरेको छ। नियमित गस्ती तथा सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गाँजासहित पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।






