कञ्चनरुप, २० माघ । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ।
फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा पेश गरेको हो।
पक्राउ पर्नेमा राजविराज नगरपालिका–५ बस्ने राउज कुमार महतो, तिरहुत गाउँपालिका–१ बस्ने सन्तोष यादव र सुरुङ्गा नगरपालिका–३ बस्ने पुष्पक यादव रहेका छन्।
प्रहरीका अनुसार राउज कुमार महतोले चेक बाउन्स मुद्दामा ९ हजार रुपैयाँ जरिवाना तथा १५ दिन कैद, सन्तोष यादवले कुटपिट मुद्दामा ५ हजार रुपैयाँ जरिवाना तथा ६ महिना कैद र पुष्पक यादवले सम्बन्ध विच्छेदसम्बन्धी मुद्दामा २ हजार रुपैयाँ जरिवाना तथा ११ दिन कैद सजाय पाएका थिए।
उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।













