समाचार

सप्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

कञ्चनरुप, २५ माघ । कठौना–पातो सडकखण्ड अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शम्भुनाथ नगरपालिका–१० जमुवाका ६८ वर्षीय रामबाबु मण्डलको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज लगिएको भए पनि चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार कठौनाबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ५०४५ नम्बरको मोटरसाइकलले पैदलयात्री मण्डललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–११ का २२ वर्षीय राम अवतार मण्डल र पछाडि सवार सोही स्थानका १६ वर्षीय विशालकुमार मण्डल समेत घाइते भएका छन्। दुवै जनाको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीले ठक्कर दिने मोटरसाइकललाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।

   

You cannot copy content of this page