कञ्चनरुप, ११ चैत्र । सप्तरी प्रहरीले लागूऔषध सेवन तथा कारोबार भइरहेको अवस्थामा ३ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार खडक नगरपालिका–१० फूलवरिया बस्ने अन्दाजी ३० वर्षीय सुन्दर चौधरी, सोही नगरपालिका–१० का २२ वर्षीय शुभाष चौधरी र २१ वर्षीय राजाबाबु चौधरीलाई नियन्त्रणमा लिइएको हो ।
विशेष सूचनाको आधारमा प्रहरीले मंगलबार राती ७ बजेको समयमा खडक नगरपालिका–१० स्थित सुन्दर चौधरीको घरमा खानतलासी गरेको थियो। सो क्रममा लागू औषध सेवन तथा कारोबार भइरहेको अवस्थामा उनीहरूलाई फेला पारिएको प्रहरीले जनाएको छ।
खानतलासीका क्रममा प्रहरीले डाइजापाम ११ एम्पुल, फेनेरगन १० एम्पुल, बुप्रेनोर्फिन १२ एम्पुल तथा आइफोन ११ प्रो, रेड्मी नोट १४ प्रो र रियलमी नोट ७० प्रो मोबाइल सेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो।
पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरीले बताउनुभयो ।
पुरीका अनुसार लागू औषध नियन्त्रणका लागि प्रहरीले अभियानलाई अझ सशक्त बनाएको छ।











