कञ्चनरूप । नयाँ वर्ष २०८३ को अवसरमा सप्तरीको कञ्चनरूपस्थित प्रसिद्ध धार्मिक स्थल खोत्तरदेवी गुफामा भक्तजनहरूको ठूलो घुइँचो लागेको छ। वैशाख १ गते मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ सप्तरीसहित देशका विभिन्न जिल्ला तथा छिमेकी देश भारतबाट समेत हजारौं श्रद्धालु दर्शनका लागि पुगेका हुन्।
कञ्चनरूप नगरपालिका–११ बक्साहाबाट करिब २ किलोमिटर उत्तर, चुरे पर्वतको खोचमा अवस्थित खोत्तरदेवी गुफा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको आस्थाको केन्द्रका रूपमा परिचित छ। नयाँ वर्षको दिन मात्र २० हजारभन्दा बढी भक्तजनले गुफामा पुगेर पूजा–आराधना गरेको स्थानीयले बताएका छन्।

भक्तजनहरूले यहाँ भाकल गरेर मनोकामना पूरा हुने विश्वास राख्ने गरेका छन्। इच्छा पूरा भएपछि बोका, परेवा, भेटी तथा अन्य सामग्री चढाउने प्रचलन रहिआएको छ। “जे माग्यो त्यही पूरा हुन्छ” भन्ने जनविश्वासका कारण पनि यस तीर्थस्थलको महिमा दिनप्रतिदिन बढ्दै गएको देखिन्छ।
प्राकृतिक रूपमा चट्टानले घेरिएको पहाडको बीचमा रहेको गुफाबाट हरियाली र मनोरम दृश्यावलोकन गर्न सकिन्छ। यहाँ पुग्दा यात्रुहरूले अनौठो अनुभव र मानसिक शान्ति प्राप्त गर्ने बताउँछन्। चुरे पर्वतको खोचमा अवस्थित भएकै कारण यस गुफालाई प्रारम्भमा ‘खोंची देवी’ भनिन्थ्यो, जसले समयक्रममा ‘खोतरादेवी’ हुँदै ‘खोत्तरदेवी’ नाम पाएको स्थानीय किंवदन्ती छ।
गुफा परिसरमा कहिल्यै नसुक्ने अजम्बरी दह र भिमसेन थान समेत रहेका छन्, जसले यस स्थानको धार्मिक महत्व अझ बढाएको छ। धार्मिक विश्वासअनुसार उक्त दहमा शुद्ध मनले स्नान गरी लगाएको लुगा त्यहीँ चढाएर नयाँ वस्त्र धारण गरी पूजा गरेमा चर्मरोग निको हुने, सन्तान प्राप्ति हुने तथा विवाहका इच्छाहरू पूरा हुने जनविश्वास रहेको छ।

नयाँ वर्षको दिन यहाँ भव्य मेला समेत लाग्ने गर्दछ। मेलामा सप्तरी, सिरहा, उदयपुर, सुनसरी, मोरङ लगायत जिल्लाका साथै भारतको बिहारबाट समेत ठूलो संख्यामा भक्तजनहरू सहभागी भई दर्शन, पूजा–आराधना तथा मनोरञ्जन गर्ने गर्छन्।
भारतको बिहारबाट आएका श्रद्धालु अरबिन्द सिंहले खोत्तरदेवी गुफाको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताए। “यहाँको बाटो सुधार र व्यवस्थापन गर्न सके धार्मिक पर्यटनको ठूलो सम्भावना छ,” उनले भने।
त्यस्तै मोरङको विराटनगरबाट ३० वर्षपछि दर्शन गर्न आएकी निर्मला अधिकारीले देवीको शक्तिप्रति आस्था व्यक्त गर्दै भनिन्, “पहिलेको तुलनामा सुधार भएको छ, अझ व्यवस्थित विकास गर्न सके यो देशकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्छ।”
स्थानीयवासीका अनुसार राजनीतिक तथा सम्बन्धित निकायको पर्याप्त ध्यान नपुगेका कारण खोत्तरदेवी क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धन अपेक्षाअनुसार हुन सकेको छैन। उनीहरूले यस क्षेत्रको समुचित संरक्षण र प्रचार–प्रसार गर्न सके ग्रामीण पर्यटन प्रवर्द्धन भई स्थानीय अर्थतन्त्रमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।












