समाचार

सप्तरीमा १ हजारका ७ थान जाली नोटसहित दुई युवक पक्राउ

कञ्चनरुप, २५ वैशाख । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा नक्कली नेपाली नोटसहित प्रहरीले दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१४ मल्हनियास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूलाई बिहीबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका–११ सखुवा टोल बस्ने २२ वर्षीय विवेक कुमार पण्डित र सोही उमेरका सचिन कुमार यादव रहेका छन्।
भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०६-००१ प ०९९५ नम्बरको रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर रोकी खानतलासी गर्दा उनीहरूको साथबाट १ हजार दरका ७ थान नक्कली नेपाली नोट फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले नक्कली नोट र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर मुद्रा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उनीहरूमाथि थप अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ।

   

You cannot copy content of this page