कञ्चनरुप, २५ वैशाख । सप्तरीमा लागु औषधको बढ्दो प्रयोग र ओसारपसार नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले ‘लागु औषध सेवनकर्ता खोजी एवं सुधार अभियान २०८३’ को औपचारिक सुरुवात गरेको छ।
शुक्रबार तिलाठी कोईलाडी गाउँपालिका–१, स्थित बेल्ही भन्सार चोकमा आयोजित एक विशेष कार्यक्रमका बीच यो महाअभियानको शुभारम्भ गरिएको हो।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको अध्यक्षता तथा राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
नाकामै लागु औषध परीक्षण (Drug Test)
अभियान अन्तर्गत सीमा नाकाहरूमा ‘लागु औषध परीक्षण केन्द्र’ (Drugs Testing Checkpoint) स्थापना गरिएको छ। अब सीमाबाट आवतजावत गर्ने शंकास्पद व्यक्तिहरूलाई ‘ड्रग टेस्ट किट्स’ (Drug Test Kits) को प्रयोग गरी तत्कालै परीक्षण गरिनेछ। परीक्षणका क्रममा लागु औषध सेवन गरेको पाइएमा उनीहरूको तथ्यांक संकलन गरी निगरानीमा राखिने प्रहरीले जनाएको छ।
अडियो-भिजुअल सचेतना र जीपीएस ट्र्याकिङ (GPS Tracking)
अभियानलाई प्रभावकारी बनाउन सीमामा फेला परेका सेवनकर्ताहरूलाई एक घण्टासम्म अडियो-भिजुअल (Audio Visual) माध्यमबाट सचेतनामूलक प्रशिक्षण दिइनेछ। साथै, सेवनकर्ताहरूको विस्तृत अभिलेख तयार पारी उनीहरूको ‘जीपीएस लोकेसन’ (GPS Location) समेत ट्र्याकिङ गरिने योजना रहेको छ।
यस महा-अभियान अन्तर्गत लागु औषध ओसारपसार गर्ने मात्र नभई भण्डारण गर्ने मुख्य कारोबारी र अवैध रूपमा लागु औषध बिक्री गर्ने औषधि पसलहरूको समेत पहिचान गरी कडा कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक (SP) गौतम कुमार के.सी. ले जानकारी दिनुभयो।
कार्यक्रममा नेपाली सेनाको बरख गणका प्रमुख सेनानी सोवित बहादुर चन्द, सशस्त्र प्रहरी उपरीक्षक रोशन कुमार बुढाथोकी, राष्ट्रिय अनुसन्धानका उप-निर्देशक कुलचन्द्र नेपाल, प्रहरी नायव उपरीक्षकद्वय डम्बर बहादुर पुरी र राजन रायमाझी लगायत स्थानीय जनप्रतिनिधि, उद्योगी, विद्यार्थी र समाजसेवीहरूको ठुलो उपस्थिति रहेको थियो।
कोशी प्रदेश प्रहरी कार्यालयको मार्गनिर्देशनमा सञ्चालित यो अभियानले लागु औषधमुक्त समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।














