उदयपुर, १५ भदौ । उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवनको जंगलबाट ठूलो परिमाणमा गाँजासहित तीन जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान करिब ४ बजे विशेष सूचनाका आधारमा शान्तिवन क्षेत्रको जंगलमा खोजतलास गर्ने क्रममा १ हजार १ सय २२ किलो ६७ ग्राम गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार जंगलभित्र बा.१६ च ५२६९ नम्बरको बोलेरो गाडी फेला परेको थियो। गाडीनजिकै तथा जंगलका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरा गाँजा समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
गाँजासहित पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–१ डाँडागाउँका अन्दाजी ५५ वर्षीय रामबहादुर मगर, सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र अन्दाजी ४६ वर्षीय पृथ्वीराज मगर रहेका छन्।
प्रहरीले उनीहरूलाई बरामद गाँजा र बोलेरो गाडीसहित नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












