कञ्चनरूप, ७ असोज । सप्तरीमा ९ वर्षीया बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले ४५ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका–१ का राजेश कुमार कर्ण रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बाल यौन दुरुपयोगको घटना पश्चात् फरार रहेका कर्णलाई खोजतलास गर्ने क्रममा गाउँटोलबाट फेला पारी नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार २०८३ असोज ५ गते पीडित बालिकाका आफन्तले कर्णविरुद्ध जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले घटनामा संलग्न आरोपित कर्णको खोजी तीव्र बनाएको थियो।
पक्राउ परेका कर्णलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा राखी उनीविरुद्ध बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेका अनुसार कर्णलाई सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।












