कञ्चनरूप, ८ असोज । सप्तरीस्थित सप्तकोशी नदीमा पानीको बहाव लगातार बढ्दै गएपछि कोशी ब्यारेजमा त्रास बढेको छ। आज दिउँसो ३:१५ बजेको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव १,७१,४१० क्युसेक पुगेको छ।
पानीको बहाव तीव्र गतिमा बढ्दो क्रममा (Rising) रहेको र नदीले खतराको तह पार गरेकाले ब्यारेज क्षेत्रलाई खतराको सूची (Danger Status) मा राखिएको छ। जलसतह बढेपछि पानीको निकास सहज बनाउन ब्यारेजका २१ वटा ढोका (Gates) खोलिएका छन्।
नदीमा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्र तथा आसपासका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल, सप्तरीले कोसी ब्यारेज, खाँडो, महुली, जिता र त्रियुगा लगायतका नदीका तटीय बस्ती र मुख्य चोकहरूमा माइकिङ गरी सतर्क रहन आग्रह गरिरहेको छ।













