कोशी प्रदेश • समाचार

विराटनगरतर्फ जाँदै गरेको एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद, चालक फरार

सुनसरी — सुनसरीको दुहबीमा ठूलो परिमाणको लागूऔषध गाँजासहित एउटा एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मिति २०८३ कात्तिक ०२ गते राति करिब ००:३० बजे कोशी राजमार्ग हुँदै इटहरीबाट विराटनगरतर्फ एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त भएको थियो।

प्राप्त विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र सीआरभी (CRV) दुहबीबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा खोजतलास तीव्र पारेको थियो। त्यस क्रममा सुनसरीको दुहबी नगरपालिका वडा नं. ०६ स्थित बुढी खोलाको किनारमा ना ४ च ६०६३ नम्बरको एम्बुलेन्स बेवारिसे अवस्थामा फेला परेको हो।

उक्त एम्बुलेन्समा जाँच गर्दा ५७४.८७ किलो (पाँच सय चौहत्तर किलो आठ सय सत्तारी ग्राम) गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको छ।

प्रहरीले बरामद गरिएको गाँजा र एम्बुलेन्स दुवैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबी सुनसरीमा राखी थप अनुसन्धान कार्य अगाडि बढाएको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभएको छ।

You cannot copy content of this page