आइतबार, ९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
समाचार

सप्तकोशी नदीमा पानीबोट दुर्घटना : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा, ८ कात्तिक  । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा चालकसहित १२ जनाको उद्धार गरिएको छ ।

प्राप्त जानकारीअनुसार, आइतबार भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–चतरातर्फ जाँदै गरेको ओबीएम (OBM) कम्पनीको पानीबोट ब्रेक फेल भएपछि दिउँसो करिब २ बजे सप्तकोशी नदीमा दुर्घटनामा परेको हो। पानीबोटमा चालकसहित १५ जना सवार रहेको बताइएको छ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टी सुनसरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। उद्धार गरिएका १२ जनालाई उपचारका लागि चतरा अस्पताल पठाइएकोमा उपचारकै क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की करिब ५२ वर्षीया लिला राई, नामथर र वतन नखुलेकी अन्दाजी ६–७ वर्षीया बालिका तथा पहिचान खुल्न नसकेका अन्दाजी ४०–५० वर्षीय पुरुष रहेका छन्।

दुर्घटनामा परी झापाको कन्काई नगरपालिका–४ का करिब ७ वर्षीय शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की अन्दाजी २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी २२ वर्षीया मनु राई बेपत्ता भएका छन्। बेपत्ता शिवक, उद्धार गरिएकी निता मगरका छोरा हुन्।

उद्धार गरिएकामध्ये पानीबोट चालक बराहक्षेत्र नगरपालिका–१ का २४ वर्षीय सुमन मगर रहेका छन्। त्यस्तै, भोजपुरको हतुवागढी गाउँपालिका–४ का विष्णु सुनार (४५), तीर्था रसाइली सुनार (४२), पूजा तिरुवा (२५), प्रज्वल तिरुवा (२२), देवेन्द्र राई (२६), रञ्जित राई (२३) र मोहन सुनार (३१) तथा झापाको कन्काई नगरपालिका–४ की निता मगर (२९) को उद्धार गरिएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमाण्डमा १४ जना प्रहरी परिचालन गरिएको छ। त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वार्टर धनकुटाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयालको कमाण्डमा १६ जनाको टोली परिचालन गरिएको छ।

बेपत्ता तीन जनाको खोजीका लागि सुरक्षाकर्मीले सप्तकोशी नदी क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेका छन्। दुर्घटनाको कारण, घटनाको विस्तृत विवरण तथा बेपत्ताहरूको अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page