मधेस प्रदेश समाचार

कञ्चनरुप सहित सप्तरीमा फुसको छानामुक्त बनाउने अभियान शुरु

कञ्चनरुप, पुष १० गते । 

सप्तरीमा फुसको छानामुक्त बनाउने अभियान शुरु गरिएको छ । फुसको छानोका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुँदा ठूलो धनजनको क्षति हुने र वर्षेनी परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले फुसको छानो विस्थापित गर्ने अभियान शुरु गरेको हो ।

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत सप्तरीको सबै स्थानीय तहमा फुसको छानो विस्थापित गर्ने अभियान शुरु गरिएको बताइएको छ । अभियानअन्तर्गत चालु आर्थिक वर्षमा सप्तरीका विभिन्न स्थानमा चार हजार जस्तापातासहितको सुरक्षित घर बनाउन लागिएको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीका प्रमुख सुरेन्द्र प्रसाद साहले जानकारी दिनुभएको छ ।

सुरक्षित नागरिक आवास समन्वय समितिको आज शुक्रबार कञ्चनरुप नगरपालिकामा बसेको बैठकले वर्षेनी हुने आगलागी र छानो चुहिने समस्याको दिगो समाधानका लागि पहिले निवेदन लिई घरको डाटा संकलन गरी सर्वे भए पश्चात सप्तरीका ४ वटै निर्वाचन क्षेत्रका स्थानीय तहमा जस्तापाता सहितको सुरक्षित घर बनाउने निर्णय गरेको छ ।

कञ्चनरुप नगरपालिकामा ४ सय ५३ , हनुमाननगर कंकालिनी नगरपालिकामा ३ सय ९२, तिरहुत गाउँपालिकामा २ सय ५५, अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा २ सय २३ र सप्तकोसी नगरपालिकामा ३ सय ४ वटामा जस्तापाताको सुरक्षित आवास भवन निर्माण गर्ने निर्णय भएको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी राजविराजका इन्जिनीयर मदन रायले जानकारी दिनुभयो ।

सरकारले फुसको छानो विस्थापित गर्ने लक्ष्यका साथ शुरु गरेको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत फुस छानो हटाएर जस्तापाता हालेर सुरक्षित घर बनाउन लागिएको इन्जिनीयर रायले बताउनुभयो ।

प्रत्येक घरका लागि रु. ५० हजार रकम छुट्याइएको छ, उहाँले भन्नुभयो, लक्षित परिवारलाई घरमा जस्तापाता हाल्न पहिलो किस्तामा रु ३० हजार दिने र तोकिएको मापदण्ड अनुसार जस्तापाता हालेर भवन बनाउनेलाई थप रु. २० हजार उपलब्ध गराइने छ । यसमा कुनै लक्षित वर्ग वा जातलाई नभई फुसको छानो भएका सबै घरपरिवारलाई समेटिएको उहाँको भनाइ छ ।

तराई–मधेशका जिल्लामा अझै फुसको छानो लगाउने गरिएको छ, कञ्चनरुप नगरपालिकाका नगरप्रमुख बसन्त कुमार मिश्रले भन्नुभयो, जसकाकारण वर्षेनी आगलागीको घटना हुने गरेको छ, त्यसैले सरकारले फुसको छानो विस्थापित गर्न यस्तो कार्यक्रम ल्याएको हो । यो कार्यक्रमबाट आगलागी हुने घटनामा कमी आउने उहाँको विश्वास छ ।

कार्यक्रममा कञ्चनरुप , सप्तकोशी , हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुखहरु , तिरहुत र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृतहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page