समाज

पत्रकार शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण निधन

काठमाडौं। नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष ३४ वर्षीय शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण अल्पायुमै निधन भएको छ ।
वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । १४ दिनदेखि उपचाररत कार्कीको शनिबार साँझ ८ बजे उपचारको क्रममा निधन भएको हो ।
झापाको साविक दोरामारी गाविस निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौंमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो ।
महासंघ च्यानल नेपाल शाखाको हालसमेत तीन कार्यकालअध्यक्ष भएका कार्की प्रेस चौतारी नेपालको पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो । च्यानलनेपाल टेलिभिजनमा लामो समय समाचार प्रमुख भएर काम गर्नुभएका कार्की पछिल्लो समय जनताटाइम्स अनलाइनमा सम्पादकको र सौर्य दैनिकमा सहसम्पादकको जिम्मेवारी वहन गर्दै आउनुभएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको छ ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले कार्कीको निधनबाट स्तब्ध भएको उल्लेख गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी स्वर्गीय पत्रकार कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् ।

कोरोनाकै कारण हालसम्म १३ जना पत्रकारको निधन भएको छ भने ७ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page