समाचार

सप्तकोशी नगरपालिकाद्वारा भिडभाड हुने ठाउँ तथा सवारी साधन सञ्चालनमा रोक ,अटेर गरे कारवाही गरिने

कञ्चनरुप (सप्तरी) , ७ जेठ । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणवाट संक्रमण र मृत्यु दर वढ्न थालेपछि सप्तरीको सप्तकोशी नगरपालिकाले मानिसको चहलपहल कम गर्न भिडभाड हुने ठाउँ तथा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
नगरपालिकाले एक सूचना प्रकाशित गरी कोरोना भाईरस संक्रमणवाट यस नगरपालिका प्रभावित भई संक्रमित संख्या तथा मृत्यु दर समेत वढ्दो क्रममा रही थप जोखिमको अवस्था रहेकोले उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक सेवा वाहेकका नगर क्षेत्रभित्रका सम्पूर्ण यातायातको साधन र भिडभाड हुने ठाउँहरु बन्द गरिएको नगर प्रमुख उत्तम कुमार शर्मा गौतमले जानकारी दिनुभयो ।
पसल, हाट, वजार पूर्ण रुपमा वन्द गरी मानिसहरुको आवतजावत तथा नगर क्षेत्रमा सवारी साधन (ट्रिपर, ट्याक्टर, मोटरसाईकल, कार, जिप, अटो, भ्यान, रिक्सा, साईकल) लगायत सञ्चालनमा अर्को सूचना जारी नभएसम्मको लागि रोक लगाईएको सूचनामा उल्लेख गरिएको छ ।
यस अवधिमा सम्पूर्ण नगरवासीहरु आ–आफ्न घरभित्रै सुरक्षित रुपमा रहनका लागि पनि नगरपालिकाले सूचना मार्फत अनुरोध समेत गरेको छ ।
भाईरसवाट संक्रमित तथा संक्रमणको लक्षण देखिएका ब्यक्तिहरुले आवश्यक सेवा तथा सहयोगका लागि आ–आफनो पायक पर्ने वडा कार्यालय तथा स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्रहरुमा सम्पर्क गर्न समेत नगर प्रमुखले गौतमले हस्ताक्षरित सूचनामा भनिएको छ ।
सूचनाको पूर्ण पालना गरी संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग गर्न नगरबासीलाई अनुरोध गर्दै सूचनाको अटेर गरेको पाईएमा कानून वमोजिम कारवाही भई जाने ब्यहोरा समेत सम्वन्धित सवैमा जानकारी गराएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page