जीवनशैली धर्म संस्कृति

सप्तरीमा मधुश्रावणी पर्वसँगै खिर खाने पर्व हर्षोल्लासका साथ मनाइयोँ

राजविराज , १५ साउन । मिथिलाञ्चलमा आज मधुश्रावणी पर्वसँगै विभिन्न संस्थाले खिर खाने पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरी, सप्तरी जिल्ला अदालत वार एकाई, राजविराज उच्च अदालत बार एशोसिएसन र उच्च अदालत जनकपुर राजविराज इजलाशले राजविराजमा आज छुट्टा–छुट्टै कार्यक्रम गरी मधुश्रावणी पर्वसँगै खिर खाने कार्यक्रम मनाएका हुन् ।
सञ्जालद्वारा राजविराज जेसीज भवनमा आयोजित कार्यक्रममा मालती चौधरीले मधुश्रावणी पर्वको महत्वका बारेमा दर्शाउनु भयो । श्रावण कृष्ण पञ्चमीको दिनदेखि शुरु हुने मधुश्रावणी पर्व विशेष विधिका साथ तेह्र दिनसम्म मनाइने जानकारी दिनुहुँदै चौधरीले मिथिलामा नवविवाहिता बधुको सबभन्दा ठूलो व्रतको रुपमा मानिने मधुश्रावणी पर्व श्रावण शुक्ल तृतीया तिथिका दिन समापन हुने जानकारी दिनुभयो ।

सञ्जालकी पुनम पोखरेलले साउन महिना बर्षाको समयमा लाग्न सक्ने विभिन्न संक्रमण रोगहरु नलागोस् तथा रोगको संक्रमण नहोस् भन्नका लागि खीर खाने गरिएको बताउनु भयो । खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले कृषिप्रधान देशमा कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकसित भएको उहाँले बताउनु भयो ।
अधिवक्ता मनु खनालले साउन महिनामा हुने शिवपुजन र हरियो चुराको महत्वबारे प्रकाश पार्नुभयो । सञ्जालकी अध्यक्ष अनीता देवकोटाको अध्यक्षता र कोषाध्यक्ष ललीता कर्णको संयोजनमा भएको कार्यक्रमकी प्रमुख अतिथि मञ्जु श्रेष्ठले धार्मिक र सांस्कृतिक रुपमा पर्वहरुलाई गलत रुपमा व्याख्या नगरी महिला र पुरुषले समानतापूर्वक मनाउनु पर्ने बताउनु भयो ।

यसैगरी जिल्ला बार एकाई तथा राजविराज उच्च अदालत बार एशोसिएसन र उच्च अदालतले आफ्नै सभाकक्षमा कार्यक्रम गरी खिर खाने दिन भव्यताका साथ मनाएको छ ।
नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरू बीच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित खिर विभिन्न उत्सव, चाडवाड, पूजाआजा, विवाह–व्रतबन्धमा महत्वका साथ पस्किने गरिन्छ । अदालतका न्यायाधीश, कर्मचारीहरु र कानुन व्यवसायीहरुले सँगै बसेर खिर खाँदै खिरको महत्वबारे चर्च गरे । दूधको कमी नहुने यो शुद्ध र प्राकृतिक महिनामा खीर खाएर गति परिन्छ भन्ने धारणा छ ।

उच्च अदालत बार एशोसिएसनका अध्यक्ष भरत यादवले बालीनाली सप्रियोस्, मानो खाएर मुरी उब्जियोस् र सबैको विचार खीर जस्तै सेतो, स्वच्छ र मिठो होस भनेर शुभकामना व्यक्त गर्नुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page