स्वास्थ्य

कञ्चनरुपद्वारा सुनौलो हजार दिनका आमाहरुलाई पोषण सामाग्री सहितको झोला वितरण

उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी), श्रावण २१ गते ।
कञ्चनरुप नगरपालिका बहुक्षेत्रिय पोषण इकाई कञ्चनपुर सप्तरीले बिहीबार शंकर माध्यमिक विद्यालय कञ्चनरुप –१२ रुपनगरमा सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण गरेको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले सुनौलो हजार दिनका आमाहरुले विशेषगरी आफ्नो स्वास्थ्य , सरसफाइ र खानपीनमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । अब उप्रान्त गर्भवती महिलाहरुलाई निशुल्क रुपमा एम्बुलेन्सको व्यवस्था गर्ने बताउँदै नगर प्रमुख मिश्रले सुनौलो हजार दिनका महिलाहरुलाई नगरपालिकाले क्याल्सियम चक्कि निशुल्क रुपमा उपलब्ध गराउने बताउनुभयो ।

यस अघि सुनौलो हजार दिनका आमाहरुले क्याल्सियम चक्कि किनेर खानु पथ्यो । नेपालमै निशुल्क रुपमा क्याल्सियम चक्कि उपलब्ध गराउने पालिकामा कञ्चनरुप नगरपालिका पहिलो रहेको समेत उहाँले बताउनुभयो ।

स्वास्थ्य शाखाका स–संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले स्तनपान बच्चाको लागि अमृत समान हुने भएकाले ६ महिनासम्म बच्चालाई आमाको दुध मात्र खुवाउन सुझाव दिदै दुधमा पानी, पोसिलो र भिटामिन सहितको दुध हुने भएकाले बच्चालाई १० मिनेट सम्म दुध खुवाउनु पर्ने बताउनुभयो । दिनमा ६ पटक र राती ४ पटक अनिवार्य रुपमा बच्चालाई आमाको खुध खुवाउनु पर्ने समेत बताउनुभयो ।
कृषि विकास शाखाका बेचन सढोक यादव, पशुपंक्षि विकास शाखाका दिवाकान्त चौधरीले खानेकुराहरु कसरी खाने भन्ने बारेमा जानकारी गराउनु भएको थियो ।

स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादवले वडा नम्वर १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, र १२ मा सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण गरिएको जानकारी गराउनुभयो ।
घ्यु एक किलो, कुखुराको अण्डा एक कैरेट, हरियो भटमास एक किलो, पोषिलो पिठो दुई किलो, तरकारी बिउ विजन नौ किसिमको एक प्याकेट, सर्जिकल मास्क नोटपिन मेडिकेटेड एक पाकेट, सपकेश प्लाष्टिक एक थान, टुथब्रस एक थान, टुथपेष्ट एक थान, मग एकलिटरवाला एक थान, स्यानिटरी प्याड (१.८) ४ प्याकेट, ह्याण्ड सेनिटाइजर (स्प्रेयर) १०० एमएल एक बोतल, क्याल्सियम चक्की ५०० एमजी दुई सय चक्की पोषण झोलामा हाली सुनौलो हजार दिनका आमाहरुलाई वितरण गरिएको यादवले बताउनुभयो ।

प्रत्येक वडाबाट ३० जना अतिविपन्न गरिब, दलित सुनौलो हजार दिनका आमाहरु छनोट गरी ११ वडाका ३ सय ३० जना सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण गरिएको र वडा नम्बर ८ का ३० जनालाई भोली २२ गते शुक्रबारका दिन पोषण झोला वितरण गरिने यादवले जानकारी गराउनुभयो ।
वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्री, कार्यपालिकाका सदस्य अनन्तलाल धामी, १२ नम्बर वडाका वडा सदस्य द्वय लक्ष्मी श्रेष्ठ, दिलकुमारी बिक, पोषण कार्यक्रमकि सहजकर्ता सुसिला चौधरी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । १२ नम्बर का वडा अध्यक्ष देवी बहादुर खत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page