कञ्चनरूप । सशस्त्र प्रहरी बल, नेपाल नं. ६ गण हेडक्वार्टर सप्तरीको आयोजनामा राजगढ गाउँपालिका–२ स्थित बि.ओ.पि. बनैनियाको पुरानो भवनमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
“सीमाबासीसँग सशस्त्र प्रहरी” कार्यक्रमअन्तर्गत आयोजित शिविरमा स्थानीय बासिन्दालाई विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो।
नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीअन्तर्गत फिल्ड अस्पताल, स्थानीय तह तथा विभिन्न स्वास्थ्य संस्थाहरूको संयुक्त प्राविधिक टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो।
शिविरबाट १५२ जना महिला र १०४ जना पुरुष गरी कुल २५६ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्।
सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दालाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने तथा सुरक्षा निकाय र सीमाबासीबीचको सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरीले जनाएको छ।













