मधेस प्रदेश समाचार

सप्तरीको राजविराजमा भ्रष्टाचार विरुद्ध प्रदर्शन

राजविराज, ६ जेठ । सप्तरीको राजविराजस्थित गजेन्द्र चोकमा शनिबार साँझ भ्रष्टाचार विरुद्ध प्रदर्शन भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण लगायत भ्रष्टाचार काण्डमा संलग्नलाई कारबाहीको माग गर्दै राजविराज जेसीजले प्रदर्शन गरेको हो ।
शरणार्थी प्रकरण लगायत विभिन्न भ्रष्टाचार काण्डमा संलग्न कुनै पनि दोषीलाई उन्मुक्ति दिन नहुने उनीहरूले माग राखे । प्रदर्शनमा स्थानीय नागरिकहरू स्वतस्फुर्त रुपमा उत्रिएका छन् ।

राजविराज जेसीजका युवाहरू जम्मा भएर भ्रष्टाचारविरोधी नारासहित मन्तव्य राखेका छन् । पार्टी, संस्थाभन्दा ठूलो राष्ट्र हुने तथा भ्रष्ट र नालायकहरू विरुद्ध एकजुट हुनुपर्ने भन्दै उनीहरूले प्रदर्शन गरेको बताए । प्रदर्शनमा सहभागीहरूले कुनै पनि दबाबमा भ्रष्टाचारका दोषीलाई उन्मुक्ति दिन नहुने माग गरेका छन् । प्रदर्शनकारीहरूले भ्रष्टाचार विरोधी नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरे ।
राजविराज जेसीजका अध्यक्ष उज्जवल कावराको अध्यक्षतामा भएको कार्यक्रममा राजविराज जेसीजका पूर्व अध्यक्षहरू मनोहर पोखरेल, सन्तोष सिन्हा लगायतको सहभागिता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page