मधेस प्रदेश समाचार

१६ दिने अभियान : हिंसामा परेर ज्यान गुमाएकाहरू प्रति समवेदना प्रकट गर्दै दीप प्रज्वलन

कञ्चनरुप, ९ मंसिर । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा शनिबार साँझ सप्तरीको राजविराज दीप प्रज्वलन गरिएको छ ।
हिंसामा परेर ज्यान गुमाएकाहरू प्रति समवेदना प्रकट गर्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन सप्तरीका अधिकारकर्मीहरूले साँझ गजेन्द्र चोकमा दीप प्रज्वलन गरेका हुन् ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरी यो अभियान मनाउने गरिन्छ । विश्वमा सन् १९९१ देखि सुरु भएको यो अभियान नेपालमा २०५४ सालदेखि सुरु भएको हो ।

लैङ्गिक हिंसा नियन्त्रण जिल्ला संजाल सप्तरीको आयोजनामा लैङ्गिक हिंसा बिरुद्ध काम गर्दै आएका एक दर्जन बढी सङ्घ–संस्थाहरूको साझेदारीमा संयुक्त रुपमा दीप प्रज्वलन गरिएको छ ।
कार्यक्रममा वक्ताहरूले हिंसामा परेर ज्यान गुमाएकाहरू प्रति समवेदना प्रकट गर्दै मैनबत्तीको यो उज्यालो झै सबैको मन उज्यालो होस् भनेर कामना गरे ।

सहभागीहरूले घरदेखि कार्य क्षेत्रसम्म महिला हिंसा वा लैंगिकतामा आधारित हुने सबै प्रकारका हिंसा अन्त्यका लागि सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाए ।
१६ दिने कार्यक्रमअन्तर्गत पीडितहरूलाई सहयोग, हौसला प्रदान, कानुनी शिक्षा, र्‍याली, अन्तरक्रिया, संवाद, बालविवाह विरुद्ध अन्तरपुस्ता संवाद, वक्तृत्वकला, चित्रकला, कविता प्रतियोगिता, फलफूल वितरण, सरसफाइ लगायतका कार्यक्रम तय भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page