मधेस प्रदेश समाचार

राजविराज कारागारमा कैदीको मृत्यु भएपछि इन्सेकद्वारा अनुगमन

राजविराज, १० मंसिर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरम मधेस प्रदेश कार्यालय, जनकपुरधामको टोलीले आज राजविराज नगरपालिका–६ स्थित जिल्ला कारागारको अनुगमन गरेको छ ।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, इन्सेक प्रतिनिधि मनोहर कुमार पोखरेल, एडभोकेसी फोरम मधेस प्रदेशका संयोजकसमेत रहेका अधिवक्ता राजकुमार महासेठ सम्मिलित टोलीले जिल्ला कारागारको निरीक्षण तथा अनुगमन गर्नुका साथै मङ्सिर ५ गते कारागारमा मृत्यु भएका कैदी ६५ वर्षीय नन्दीलाल मण्डलबारे जानकारी लिएको छ ।

टोलीले मृतक मण्डलका परिवारका सदस्य, अस्पतालका कर्मचारीका साथै कैदीबन्दीसँग छलफल गरेको छ ।
१ सय २५ जना बन्दी क्षमता रहेको जिल्ला कारागारमा कैद तोकिएका १ सय ९३ जना र कैद नतोकिएका २ सय ४४ जना बन्दी गरी ४ सय ३७ जना कैदीबन्दीहरू रहेका छन् । जसमा १० जना महिला कैदी र १४ जना महिला बन्दी रहेका छन् । कारागारभित्र १७ जना पुरुष र १ जना महिला भारतीय कैदीबन्दी रहेका छन् ।
जीर्ण कारागारमा झण्डै चार गुणा कैदीबन्दीहरू कोचिएर बस्नुपर्ने अवस्थाले बस्न समस्या भएको चौकिदार कामेश्वर यादवले बताए ।
कारागारका निमित्त प्रशासक सदानन्द दासका अनुसार फैसला ढिलो हुँदा ठूलो सङ्ख्यामा कैदी भन्दा बढी बन्दीहरु राख्नु परेको र करिब ५० जना कैदीबन्दीहरू दिर्घरोगी रहेका छन् ।
कैदीबन्दीको चापले सुत्नका साथै शौचालय र ट्युववेल प्रयोगमा कठिनाइ भएको कैदीबन्दीहरुले बताए । हिँडडुल गर्ने ठाउँ, खेलकुद सामग्री र पुस्तकहरूको अभाव भएको र सीपमुलक तालिमको व्यवस्था नभएको बन्दी कोशिलादेबी दासले बताए ।
टोलीले कारागारमा मृत्यु भएका कैदी मण्डलको राजविराज नगरपालिका–१५ मुसहरनियाँस्थित घर गएर समवेदना प्रकट गर्दै उनको परिवारसँग घटनाबारे जानकारी लिएको छ । टोलीले मृतकका छोरा केशवकुमार मण्डल, दाजु महेशनारायण मण्डलसहित परिवारका सदस्यहरुसँग छलफल गरेको छ । कैदी मण्डलको उपचार र मृत्युका बारेमा अस्पताल पुगेर टोलीले जानकारी लिएको छ ।

खुट्टा सुन्निएको तथा झमझमाउने र पोल्ने गरेको कैदी मण्डलको स्वासप्रस्वासमा समस्या देखिएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र छिन्नमस्ता अस्पतालमा उपचार भएको थियो ।
मङ्सिर ५ गते विहानको खाना खाएर केहीबेर आराम गरेपछि शौचालय गएका मण्डल निक्लेर ट्युवेलमा हातखुट्टा धोइरहेका बेला एक्कासी लडेर बेहोस भएपछि तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पु¥याइएको निमित्त कारागार प्रशासक दासले बताए ।

अस्पताल पुरयाउनु अघि नै मण्डलको मृत्यु भइसकेको भनेर डाक्टर अमित यादवले मङ्सिर ५ गते दिउँसो १२ः१० बजे मृत घोषणा गरेका थिए । अस्पताल ल्याउँदा मृत्यु भइसकेको शवको पोष्टमार्टम सोही अस्पतालमा डाक्टर राजेन्द्रप्रसाद साहको टोलीले मङ्सिर ६ गते विहान गरेको आकस्मिक कक्षका प्रमुख धनेश्वर साहले बताए ।
शवको भिसेरा रिपोर्टका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइएकोले मृत्युको कारण आउन केही दिन लाग्ने अस्पतालका रेकर्डर ममता साहले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page