कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका ४ जगतपुर, कविलाशामा मंगलबार इष्ट देउता गेडसिंह बाबाको पूजा गरेर सरदार (बाँतर) समुदायले ७ औं माघे तिला संक्रान्ति महोत्सव धुमधामकोसाथ मानाएका छन् ।
मेला समितिका संयोजक राजेश सरदारको अध्यक्षता तथा मधेश प्रदेशकी खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साहको प्रमुख आतिथ्यतामा महोत्सव सम्पन्न भएको थियो ।
उक्त अवसरमा बोल्दै मन्त्री साहले सरदार (बाँतर) समुदायको कुल देवता गेडसिंह बाबाको मन्दिरका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गेड सिंह मन्दिरलाई सौन्दर्यकरण र विकासका लागि सहयोग गर्ने समेत बताउनु भयो ।
आफ्ना पुर्खाको रुपमा रहेको कुल देवता गेडसिंह बाबाको विधिपुर्वक पूजा आरधना गरेपछि खसीको बलि प्रदान गरेर बाँतर समुदायले माघे संक्रान्ती पर्व मनाएका हुन् ।

आँगन चोखो पारी पान सुपारी, लड्डु , अक्षता, खिर, तिलको लड्डु, भुजा चिउराको लाय, तुलसीको पात, बगिया, गुलि, रक्सी, विडि, सुर्ती, गाँजा,धुप, चामलको पुरी सेतो कपडामा राखी चढाएर पूजा गरि खशीको बलि दिने परम्परा रहेको मेला समितिका अध्यक्ष राजेश सरदारले बताउनु भयो ।
सरदार (बाँतर) समुदायले प्राचीनकालदेखि मनाउँदै आएको माघे संक्रान्ती राष्ट्रिय पर्व रहेको र यस पर्वको धार्मिक तथा साँस्कृतिक महत्त्वले पनि यो पर्व बाँतर समुदायको राष्ट्रिय पर्व भएको उल्लेख गर्नुभयो । परापूर्वकालदेखी बाँतर समुदायले माघे संक्रान्ती पर्व मनाउँदै आएको बताउनु भयो ।

उक्त अवसरमा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता, भोला पासवान, नेपाल सरदार बाँतर समाज उत्थान केन्द्रका कार्यवाहक अध्यक्ष श्याम सरदार लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । महोत्सवमा स्थानीय, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
महोत्सवमा कला संस्कृती झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने बातर समुदायको जातजाती, धर्मसंस्कृति र पहिचान परम्परालाई जगेर्नाका लागि सांस्कृतिक कार्यक्रम, मेला, तथा जातीको भेषभुषा, पहिरनमा झाकीको प्रदर्शन गरिएको थियो ।











Add Comment