कञ्चनरूप, १३ कार्तिक । सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रूपमा लामो नयाँ पुल निर्माण गरिने भएको छ ।
कोसी ब्यारेजको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माणको तयारी तीव्र पारिएको छ । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा अघि बढाउन लागिएको यस दूरगामी परियोजनाले पूर्व–पश्चिम राजमार्गको यात्रा दूरी उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ।
एसियाली विकास बैंकको सडक निर्देशनालयका प्रमुख वरिष्ठ इन्जिनियर चुडाराज ढकालका अनुसार हाल नयाँ पुल तथा सडक निर्माण सम्बन्धी आवश्यक प्राविधिक तयारी भइरहेको छ । केही वर्षअघि तयार पारिएको विस्तृत प्रतिवेदनले यस परियोजनाको कुल अनुमानित लागत करिब ४३ अर्ब रुपैयाँ तय गरेको ढकालले जानकारी दिए।
प्रस्तावित पुल र नयाँ सडक खण्ड निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्गको कुल दूरी १४ किलोमिटरले घट्नेछ। यसबाट इन्धन र समयको ठूलो बचत हुने अनुमान छ। यद्यपि, यो परियोजना अन्तर्गत मुख्य पुलका अतिरिक्त थप ४३ किलोमिटर नयाँ सडक समेत निर्माण गर्नुपर्ने हुन्छ। हाल पुल र सडकको समग्र संरचना निर्माणका लागि आवश्यक प्रक्रियागत कार्यहरू अगाडि बढिरहेका छन्।
परियोजना क्षेत्र कोसी टप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय एवं कानुनी स्वीकृतिका केही विषयहरूका कारण काम अघि बढाउन सामान्य ढिलाइ भएको इन्जिनियर ढकालले बताए। आरक्षसँग सम्बन्धित प्रक्रियागत कार्यहरू टुङ्ग्याएर निर्माण कार्यलाई गति दिने तयारी भइरहेको छ। कोसी ब्यारेज पुरानो हुँदै जाँदा र बढ्दो सवारी चापका कारण यो वैकल्पिक मार्गलाई निकै महत्त्वका साथ हेरिएको छ।







